काठमाडौँ । नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकलाई दूरसञ्चार सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले एनसेल र नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) बीच साझेदारी भएको छ।
नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
साझेदारीअन्तर्गत एनसेलले नेपाल भ्रमणमा आउने पर्यटकलाई मोबाइल कनेक्टिभिटी उपलब्ध गराउनेछ। नाटोले भने देशभर रहेका आफ्ना ट्राभल अपरेटरको सञ्जालमार्फत एनसेलका सेवा तथा सुविधाबारे पर्यटकलाई जानकारी गराउनेछ।
एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर दत्ताले एनसेलको देशव्यापी नेटवर्क र नाटोको पर्यटन क्षेत्रमा रहेको पहुँचलाई उपयोग गर्दै गरिएको सहकार्यले पर्यटकको यात्रा अनुभवलाई सहज बनाउने बताए।
उनका अनुसार सहकार्यले ‘नेपाल कलिङ’ अभियानको प्रवद्र्धन गर्नुका साथै नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्नेछ।
नाटोका अध्यक्ष श्रेष्ठले नेपाल आउने पर्यटकलाई यात्राका क्रममा परिवार, साथीभाइ तथा अन्य व्यक्तिसँग सम्पर्कमा रहन सहकार्यले सहज बनाउने बताए।
सहकार्यअन्तर्गत एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत एनसेल फाउन्डेसनमार्फत प्रमुख राजमार्गमा आधुनिक वाश (सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता) पूर्वाधार स्थापनाका लागि नाटोलाई सहयोग गर्नेछ।
यस कार्यक्रमको सुरुवात धादिङको गजुरीबाट पाइलट परियोजनाका रूपमा गरिने जनाइएको छ।
