काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउन मसान्तसम्ममा मुलुकको कुल विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। यो रकम अमेरिकी डलरमा २५ अर्ब ८४ करोड हुन आउँछ। नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तको तुलनामा यो सञ्चितिमा १.२ प्रतिशतको वृद्धि भएको हो।
वर्तमान विदेशी विनिमय सञ्चितिको अवस्थाले मुलुकको बाह्य क्षेत्र थप सुदृढ भएको देखाएको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार यो सञ्चितिले आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनाको आयातलाई आधार मान्दा २१.८ महिनाको वस्तु आयात र १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ।
त्यस्तै, साउन महिनामा मुलुकको चालु खाता ९४ अर्ब ५९ करोड रुपैयाँ र शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको छ। यस अवधिमा कुल १ अर्ब १ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी) भित्रिएको छ।
