काठमाडौं। व्यवसायी डा. शेष घले र उनकी पत्नी जमुना गुरुङको एमआईटी ग्रुप फाउन्डेसनले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
फाउन्डेसनले बाढीका कारण अभिभावकविहीन बनेका १८ वर्षमुनिका बालबालिकाको शिक्षा र पालनपोषणका लागि राष्ट्रिय बाल अधिकार परिषद्सँग समझदारी गरेको हो।
समझदारीअनुसार फाउन्डेसनले बाढीपीडित बालबालिकाका लागि कक्षा १२ सम्मको अध्ययन, खाना, आवास, लत्ताकपडा, स्वास्थ्य सेवा र अन्य अत्यावश्यक आवश्यकता पूरा गर्न सहयोग गर्नेछ। यो सहयोग तत्कालको राहतमा मात्र सीमित नरही आगामी वर्षहरूमा पनि निरन्तर रहने जनाइएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै डा. घलेले भोटेकोशी बाढीले सिर्जना गरेको पीडाबाट आफू र पत्नी जमुना गुरुङ गहिरो रूपमा प्रभावित भएको उल्लेख गरेका छन्। उनले भने, ‘उनीहरूलाई यो कठिन समयमा मात्र नभई आगामी वर्षहरूमा पनि सहयोग गर्न पाउनुलाई हामी सौभाग्य ठान्छौँ।’
फाउन्डेसनको यस पहलले बालबालिकालाई शिक्षामा निरन्तरता दिन, आधारभूत आवश्यकता पूरा गर्न र उनीहरूको भविष्यप्रति आशावादी बन्न सहयोग पुर्याउने लक्ष्य राखिएको छ।
