ताप्लेजुङ। नयाँ उत्पादन बजारमा आएसँगै अलैँचीको मूल्यमा गिरावट आएको छ।
भदौको पहिलो सातादेखि कारोबार सुरु भएको अलैँचीको मूल्य हाल प्रतिमन १४ हजार रुपियाँले घटेको छ।
भदौको सुरुमा सदरमुकाम फुङलिङ बजारमा प्रतिमन ९६ हजार रुपियाँमा कारोबार भएको अलैँचीको मूल्य असोजसम्म आइपुग्दा ८२ हजार रुपियाँमा झरेको छ।
अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीका अनुसार भदौको तेस्रो सातादेखि मूल्य निरन्तर घटिरहेको छ। कारोबारको सुरुमै मूल्यमा ठुलो गिरावट आउँदा स्थानीय व्यापारी र किसान चिन्तित बनेका छन्।
अन्तर्राष्ट्रिय बजारबाट हालसम्म माग नआएका कारण मूल्यमा गिरावट देखिएको रेग्मीले बताउनुभयो। व्यवसायीहरूले गत वर्षको मूल्यलाई आधार मानेर कारोबार सुरु गरेका थिए। गत वर्ष साधारण अलैँची प्रतिमन एक लाख छ हजार रुपियाँसम्ममा कारोबार भएको थियो।
अन्य व्यवसायीहरूका अनुसार अहिले नै आत्तिनुपर्ने अवस्था भने छैन। असोज र कात्तिक अलैँचीको मुख्य सिजन भएकाले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारबाट माग आउने र मूल्यमा सुधार हुने सम्भावना रहेको उनीहरूको भनाइ छ।
