काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
उद्योग विभागको प्रतिवेदनअनुसार साउन र भदौ महिनामा कुल ३२८ वटा उद्योग तथा परियोजनाका लागि उक्त लगानीको प्रतिबद्धता प्राप्त भएको हो।
स्वीकृत परियोजनामध्ये ३२२ वटा उद्योग स्वचालित मार्गबाट ९ अर्ब ७४ करोड ५० लाख रुपैयाँ र ६ वटा उद्योग स्वीकृति मार्गबाट १ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ लगानी भित्र्याउने गरी स्वीकृत भएका छन्।
महिनागत रूपमा हेर्दा भदौमा १३६ परियोजनाका लागि ६ अर्ब ३५ करोड १५ लाख र साउनमा १९२ परियोजनाका लागि ४ अर्ब ७७ करोड २८ लाख रुपैयाँको प्रतिबद्धता आएको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्षको सुरुवाती दुई महिनामा वैदेशिक लगानी प्रतिबद्धता निकै घटेको छ। गत वर्षको पहिलो दुई महिनामा ३३ अर्ब रुपैयाँभन्दा बढीको प्रतिबद्धता आएको थियो।
क्षेत्रगत रूपमा हेर्दा, रकमका आधारमा पर्यटन क्षेत्रमा सबैभन्दा बढी ३ अर्ब ७४ करोड २८ लाख रुपैयाँको प्रतिबद्धता आएको छ, जुन कुल प्रतिबद्धताको ३४ प्रतिशत हो। यसैगरी सेवामूलक क्षेत्रमा ३ अर्ब ३० करोड ५४ लाख, ऊर्जामा २ अर्ब र उत्पादनमूलक क्षेत्रमा १ अर्ब २३ करोड ९२ लाख रुपैयाँको प्रतिबद्धता प्राप्त भएको छ। उद्योग संख्याका आधारमा भने सूचना प्रविधि क्षेत्रमा उच्च आकर्षण देखिएको छ, जहाँ २१२ वटा परियोजना दर्ता भएका छन्।
विदेशी लगानीकर्ताको रुचि साना उद्योगमै बढी देखिएको छ। दर्ता भएका ३२८ उद्योगमध्ये ३२३ वटा साना, २ वटा मझौला र ३ वटा ठूला उद्योग रहेका छन्।
यी उद्योग पूर्ण सञ्चालनमा आएको खण्डमा ३ हजार ४४७ जनाले रोजगारी पाउने प्रक्षेपण गरिएको छ। यसबाहेक, उद्योग विभागले ८५ जना विदेशी लगानीकर्तासहितका लागि व्यावसायिक भिसा सिफारिस गरेको छ।
