काठमाडौं। इरानले रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि आफ्ना सर्तहरू मध्यस्थकर्तामार्फत अमेरिकालाई पठाएको छ। इरानका मुख्य वार्ताकार तथा संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले आइतबार यस्तो जानकारी दिनुभएको हो। मध्यपूर्वमा जारी द्वन्द्वका क्रममा इरानले यो जलमार्गमा आफ्नो नियन्त्रण कायम राखेको छ।
गालिबाफले इरानी राष्ट्रिय टेलिभिजनसँगको अन्तर्वार्तामा भने, हाम्रा सन्देश र सर्तहरूको व्याख्या मध्यस्थकर्तामार्फत अर्को पक्षलाई स्पष्ट रूपमा पुर्याइएको छ। उनले थपे, जबसम्म सर्तहरू पूरा हुँदैनन् र अमेरिकी प्रतिबद्धताहरू पालना हुँदैनन्, तबसम्म वार्ताअघिको अवस्थामा फर्कन र जलमार्ग खुला गर्ने कुरा सम्भव हुनेछैन।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाइले शनिबार कतारमार्फत अमेरिकासामु सर्तहरू राखिएको पुष्टि गरेका छन्। अल-जजिरासँगको कुराकानीमा उनले भने, हाम्रा सर्तहरूमा सबै मोर्चामा युद्ध अन्त्य, हाम्रा रोकिएका कोषहरूको रिहाई र नौसेना नाकाबन्दी अन्त्य रहेका छन्। यसैबीच, पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी वार्ताका लागि आइतबार तेहरान आइपुग्ने कार्यक्रम रहेको छ।
यसैबीच, इरानको खातम अल-अनबिया केन्द्रीय सैन्य कमान्डले आइतबार एक चेतावनी जारी गरेको छ। यदि अमेरिकाले इस्लामिक इरानसँग व्यवहार गर्दा गल्ती गर्यो भने कुनै सीमा वा संयम बिना त्यस देशका मध्यपूर्व क्षेत्रका सबै आधार र हितहरू प्रभावकारी र पीडादायक हमलाको निरन्तर निशाना बन्नेछन् भनी टेलिभिजनमार्फत वक्तव्य जारी गरिएको छ। फेब्रुअरीको अन्त्यदेखि सुरु भएको मध्यपूर्व द्वन्द्वका कारण अमेरिका र इरानबीच महिनौँदेखि गतिरोध कायम छ।
