पोखरा। कास्की जिल्ला प्रशासन कार्यालयले पोखरा महानगरपालिका-९ नयाँबजारस्थित मोहित ट्रेडर्सलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ। म्याद गुज्रिएका खाद्यवस्तुलाई पुनः प्रशोधन गरी नयाँ प्याकेटमा राखेर बिक्री गरेको पाइएपछि प्रशासनले उक्त कारबाही गरेको हो।
आइतबार गरिएको संयुक्त बजार अनुगमनका क्रममा उक्त पसलमा बिक्रीका लागि राखिएका अधिकांश खाद्यवस्तु म्याद गुज्रिएका र किराले खाएर खान अयोग्य अवस्थामा फेला परेका थिए। पसलको सरसफाइको अवस्था पनि निकै कमजोर रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। अनुगमन टोलीले पसलमा प्रयोग हुँदै आएको रिफाइनिङ मेसिनसमेत जफत गरेको छ।
सहायक प्रजिअ बरालले भने, “आज हामी बजारका ठुला खाद्यान्न पसलको अनुगमन गर्ने भनेर निस्किएका थियौँ। सोही क्रममा मोहित ट्रेडर्समा जनस्वास्थ्यमा गम्भीर लापरवाही गरेको पाइएपछि कानुनअनुसार दण्डित गरेका छौँ।” प्रशासनले फेला परेका अखाद्य सामग्रीको व्यवस्थापन गर्दै थप बिक्री वितरणमा रोक लगाएको छ।
प्रशासनले चाडपर्वका समयमा हुन सक्ने कालोबजारी र कृत्रिम अभावलाई रोक्न बजार अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ। अनुगमनका क्रममा खाद्यवस्तुको गुणस्तर, भण्डारण, मूल्यसूची र सरसफाइको अवस्थाबारे निरीक्षण गरिएको थियो।
