ताप्लेजुङ। जुम्लामा उत्पादित अर्गानिक स्याउ पहिलोपटक ताप्लेजुङको फुङ्लिङ बजारमा ल्याएर बिक्री गरिएको छ। जुम्लाको सिँजा गाउँपालिकास्थित रोजिखोला क्षेत्रमा उत्पादित स्याउ व्यवसायी हिक्मत आचार्य र तीर्थराज हमालले ताप्लेजुङ पुर्याएको हो।
गाडीमा लोड गरेर ल्याइएको स्याउ छ दिनको यात्रापछि आइतबार ताप्लेजुङ आइपुगेको थियो। व्यवसायी आचार्यका अनुसार आइतबार नै करिब दुई हजार ४०० किलोग्राम स्याउ बिक्री भएको छ। स्थानीय उपभोक्ताले जुम्लाको अर्गानिक स्याउ निकै रुचाएका छन्।
बजारमा ल्याइएका रोयल डेलिसियस र रेड डेलिसियस जातका स्याउ प्रतिकिलोग्राम २२० रुपियाँ थोक मूल्यमा बिक्री गरिएको व्यवसायी हमालले जानकारी दिए। जुम्लाबाट ताप्लेजुङसम्मको लामो दूरी र उच्च ढुवानी खर्चका कारण यो व्यापार चुनौतीपूर्ण भए पनि किसानलाई आत्मनिर्भर बनाउन र अर्गानिक उत्पादनको प्रवर्धन गर्न आफूहरूले विभिन्न जिल्लामा स्याउ पुर्याउँदै आएको उनले बताए।
ताप्लेजुङमा स्याउको माग उच्च देखिएपछि व्यवसायीहरू उत्साहित भएका छन्। आगामी दिनमा पनि सम्भव भएसम्म जुम्लाको स्याउ ताप्लेजुङमा निरन्तर उपलब्ध गराउने योजना रहेको आचार्यले बताए।
