काठमाडौं। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाबाट यस वर्ष ५० लाख रुपियाँ बराबरको स्याउ बिक्री भएको छ। भदौ १५ देखि असोज ४ गतेसम्मको अवधिमा गाउँपालिकाका पाँचवटै वडाबाट उक्त मूल्य बराबरको स्याउ बिक्री भएको कृषि शाखा प्रमुख विनोद शाहीले जानकारी दिए।
गाउँपालिकामा करिब ९२ हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। यहाँका करिब एक हजार सात सय परिवारले व्यावसायिक र घरायसी रूपमा स्याउ खेती गर्दै आएका छन्। यहाँ गोल्डेन, डेलिसियस, रेड डेलिसियस र स्थानीय जातका स्याउ उत्पादन हुने गरेको छ। स्थानीय जातको स्याउ प्रतिकिलो ३० देखि ३५ रुपियाँ र उन्नत जातको स्याउ बारीमै ५० रुपियाँसम्ममा बिक्री हुने गरेको किसानले बताएका छन्।
स्थानीय किसान हर्क लुहारले असोजको पहिलो सातासम्म मात्रै करिब चार लाख रुपियाँको स्याउ बिक्री गरेको बताउनुभयो। उहाँका अनुसार उत्पादित स्याउ सुर्खेत, नेपालगञ्ज र बुटवललगायतका सहरमा पुग्ने गरेको छ। सडक सञ्जालको विस्तारसँगै यहाँको स्याउले सहज बजार पाउन थालेको हो। यद्यपि, ढुवानी र कार्टुनको व्यवस्था नहुँदा केही समस्या भएको किसानहरूको गुनासो छ।
कृषि शाखाका अनुसार माटो परीक्षणबाट यहाँको जमिन स्याउ खेतीका लागि उपयुक्त देखिएपछि किसानहरू यसतर्फ आकर्षित भएका हुन्। बाजुरा जिल्लाभर ४१० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिँदै आएकोमा २०० हेक्टरमा उत्पादन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। कर्णाली करिडोरमार्फत यहाँको स्याउ देशका विभिन्न सहरमा पुग्ने गरेको छ।
