काठमाडौं। नेपालको हवाई सेवा क्षेत्रमा सक्रिय यती एअरलाइन्सले आफ्नो स्थापनाको २८ वर्ष पूरा गरेको छ । कम्पनीले पछिल्लो एक वर्षको अवधिमा ९ लाख यात्रुलाई सेवा प्रदान गर्न सफल भएको जनाएको छ । सन् १९९८ मा व्यावसायिक उडान सुरु गरेको यतीले आफ्नो यात्राको मुख्य आधारका रूपमा यात्रुको विश्वास, सुरक्षा र सेवाको गुणस्तरलाई राख्दै आएको छ ।
कम्पनीका अनुसार बदलिँदो बजार र प्रतिस्पर्धाका बीच लाखौँ यात्रुलाई सेवा दिनु आफ्नो व्यावसायिक उपस्थितिको महत्वपूर्ण सूचक हो । हवाई क्षेत्रमा सञ्चालन लागत, पूर्वाधार र मौसमजस्ता चुनौतीका बाबजुद कम्पनीले सेवामा निरन्तर सुधार गर्दै आएको बताएको छ । यतीले आफ्नो सफलतालाई केवल यात्रु संख्यामा मात्र नभई यात्रुको अनुभव, समय व्यवस्थापन र सेवाको विश्वसनीयतासँग जोडेर हेर्ने गरेको उल्लेख गरेको छ ।
यात्रुको सुविधालाई ध्यानमा राख्दै कम्पनीले टिकट बुकिङदेखि विमानस्थल सेवा र उडान प्रक्रियालाई थप सहज बनाउने प्रयास गरिरहेको छ । डिजिटल माध्यम र ग्राहक सम्पर्क प्रणालीलाई प्रभावकारी बनाउँदै यात्रुका सुझावलाई सेवा सुधारको आधार बनाइएको कम्पनीको भनाइ छ ।
यती एअरलाइन्सले उड्डयन सुरक्षालाई आफ्नो व्यवसायको प्राथमिकतामा राखेको छ । नियमित प्राविधिक निगरानी, चालक दलको तालिम र सुरक्षा व्यवस्थापन प्रणालीमा निरन्तर लगानी गर्दै आएको कम्पनीले जनाएको छ । नेपालका विभिन्न सहर र पर्यटकीय गन्तव्यलाई जोड्दै हवाई सेवाले पर्यटन, स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा पुर्याएको योगदानलाई कम्पनीले अर्थतन्त्रसँग जोडेर हेरेको छ ।
आगामी दिनमा पनि सुरक्षित, भरपर्दो र यात्रुमैत्री सेवालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीले प्रविधिको प्रयोग र सञ्चालन दक्षता अभिवृद्धिमा थप जोड दिने जनाएको छ ।
