काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालमा भारतविरोधी उग्र राष्ट्रवादको युग समाप्त भएको बताएका छन्। भारत भ्रमणका क्रममा भारतीय सञ्चारमाध्यम ‘द हिन्दू’सँगको अन्तर्वार्तामा उनले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ र रचनात्मक ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका हुन्।
वाग्लेले हालैको बाढीबाट भएको क्षति र पुनर्निर्माणका लागि आगामी ३ देखि ५ वर्षभित्र ४.७ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेका छन्। उनले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँगको भेटमा नेपालका ठूला ‘सिग्नेचर प्रोजेक्ट’ र सहयोगका स्वरूपबारे छलफल गरेको जानकारी दिए। उनले ऊर्जा परियोजनाका लागि सहुलियतपूर्ण ऋण र सडक तथा पुलजस्ता पूर्वाधारका लागि अनुदानमा आधारित सहयोग उपयुक्त हुने उल्लेख गरे।
प्रधानमन्त्रीको भारत भ्रमणबारे स्पष्ट पार्दै उनले भ्रमण यसै वर्षको अन्त्यसम्ममा हुने र यो नै प्रधानमन्त्रीको पहिलो द्विपक्षीय विदेश भ्रमण रहने बताए। नेपालको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ दल भएकाले विगतको बोझबाट मुक्त रहेर भारतसँगको सम्बन्धलाई सुदृढ गर्न चाहेको उनको भनाइ छ।
व्यापार र कनेक्टिभिटीका सन्दर्भमा वाग्लेले भैरहवा र पोखरा विमानस्थलको हवाई सम्पर्कका लागि द्विपक्षीय संयन्त्र सक्रिय पारिएको बताए। उनले यी विमानस्थल निजी क्षेत्रमार्फत सञ्चालन गर्न भारतीय कम्पनीको सहभागिता सकारात्मक हुने औंल्याए। चीनसँगको सम्बन्धबारे बोल्दै उनले भूराजनीतिक वास्तविकतालाई स्वीकार गर्नुपर्ने र भारतले विद्युत् खरिद गर्ने क्षेत्रमा मात्र केही सर्त राखेको स्पष्ट पारे।
