काठमाडौं। सरकारले धितोपत्र कारोबारबाट प्राप्त हुने पुँजीगत लाभकरको दरमा संशोधन गरेको छ। अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै सेयर स्वामित्वमा रहेको अवधिको आधारमा फरक फरक करको दर लागू गरेको हो। मन्त्रिपरिषद्को निर्णयअनुसार धितोपत्र बोर्डमा सूचीकृत निकायको सेयर बिक्रीबाट प्राप्त लाभमा नयाँ दर कायम गरिएको छ।
नयाँ व्यवस्थाअनुसार, कुनै पनि बासिन्दा प्राकृतिक व्यक्तिले ३६५ दिनभन्दा बढी समयसम्म सेयर स्वामित्वमा राखेर बिक्री गरेमा त्यस्तो लाभमा ३.७५ प्रतिशत कर लाग्नेछ। यसैगरी, धितोपत्रको स्वामित्व ३६५ दिन वा सोभन्दा कम अवधिमा बिक्री गरी लाभ प्राप्त भएमा ५ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ।
सरकारले आयकर ऐन, २०५८ को दफा ९५क को उपदफा (२) र अनुसूची १ को दफा १ को उपदफा (४) ले दिएको अधिकार प्रयोग गरी यो निर्णय कार्यान्वयनमा ल्याएको हो। यो व्यवस्था धितोपत्र विनिमय बजारमार्फत हुने कारोबारमा लागू हुनेछ। अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायका अनुसार मन्त्रिपरिषद्को यो निर्णय राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको छ।
