काठमाडौं। अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बनेको फिल्म ‘पार्वती’ले घरेलु बक्स अफिसमा आफ्नो लगानी सुरक्षित गरेको छ। भदौ १२ गते रिलिज भएको उक्त फिल्मले असोज ४ गतेसम्म २ करोड २४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।
स्रोतका अनुसार ८० लाख रुपैयाँको बजेटमा निर्माण भएको फिल्मले २ करोडभन्दा बढी व्यापार गरेसँगै लगानी सुरक्षित गरेको हो। अब हलबाट हुने थप कमाइ, ओभरसिज र डिजिटल राइट्सको आम्दानी निर्माताका लागि मुनाफा हुनेछ। अभिनेत्री ढुंगानाले सामाजिक सञ्जालमार्फत फिल्मले लगानी सुरक्षित गर्दै मुनाफाको दिशामा अघि बढेको जानकारी दिएकी छन्।
उनले भनेकी छन्, ‘थोरै लगानीमा बनेको पार्वतीले बक्स अफिसमा आफ्नो लगानी सुरक्षित गर्न सफल भइसकेको छ र अहिले केही नाफातर्फ पनि अगाडि बढिरहेको छ।’
देशमा बाढीको विपत्ति रहेका बेला फिल्म रिलिज गरेको भन्दै आलोचना भए पनि अभिनेत्री ढुंगानाले जोखिम मोलेरै फिल्म प्रदर्शन गरेकी थिइन्। उनले फिल्मको पहिलो दिनको व्यापारबाट निर्मातालाई प्राप्त भएको ११ लाख ३ हजार २७० रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेकी छन्। साथै, फिल्मको कुल कमाइको ५ प्रतिशत रकम बाढीपीडितको आश्रयका लागि सहयोग गर्ने घोषणा पनि उनले गरेकी छन्।
