काठमाडौं । कुमारी बैंकले असोज २८ गते २६औं वार्षिक साधारण सभा बोलाएको छ। बैंक सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले बिहान ११ बजे काठमाडौंस्थित सिल्भरओक ब्याङ्क्वेटमा सभा गर्ने निर्णय गरेको हो।
सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई २.१० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँको करसहित उक्त लाभांश रकम ५५ करोड २१ लाख ३३ हजार रुपैयाँ बराबर हुनेछ।
यस्तै, सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा बैंकको एकीकृत वित्तीय विवरण पारित गर्नेछ। कुमारी क्यापिटल र केबिएल सेक्युरिटीजको वित्तीय विवरणसमेत सभाबाट पारित गरिनेछ।
सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १९ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसअनुसार असोज १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित नगद लाभांश प्राप्त गर्न सक्नेछन्।
