काठमाडौं। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवै बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिनामा कुल ४ खर्ब १ अर्ब ५१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.५८ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँको आयात भएको थियो।
समीक्षा अवधिमा निर्यात व्यापारमा पनि उल्लेख्य सुधार देखिएको छ। विभागका अनुसार दुई महिनामा ७६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ६१.८६ प्रतिशतले बढी हो। अघिल्लो वर्षको भदौ मसान्तसम्म ४७ अर्ब ३१ करोड ७६ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो।
आयात र निर्यात दुवैमा वृद्धि भए पनि व्यापार घाटा भने बढेको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। यो अघिल्लो वर्षको तुलनामा २६.०२ प्रतिशतले बढी हो। तथ्यांकअनुसार आयात-निर्यातको अनुपात ५.२४ प्रतिशत रहेको छ भने वैदेशिक व्यापारमा आयातको हिस्सा ८३.९८ प्रतिशत रहेको छ।
