काठमाडौं। नेपालको कुल सार्वजनिक ऋणको दायित्व २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा सरकारले तिर्न बाँकी रहेको यो ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ प्रतिशतभन्दा बढी हो।
कार्यालयको तथ्यांकअनुसार कुल ऋणमध्ये आन्तरिक ऋण दायित्व १३ खर्ब ६१ अर्ब ८७ लाख रुपैयाँ र बाह्य ऋण दायित्व १६ खर्ब ११ अर्ब १८ करोड ८३ लाख रुपैयाँ रहेको छ। जिडिपीको आधारमा आन्तरिक ऋण २० दशमलव ६३ प्रतिशत र बाह्य ऋण २४ दशमलव ४१ प्रतिशत हुन आउँछ।
सरकारले चालु आर्थिक वर्षका लागि कुल ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। जसमध्ये भदौ मसान्तसम्ममा ६१ अर्ब ५ करोड रुपैयाँ ऋण प्राप्ति भइसकेको छ, जुन वार्षिक लक्ष्यको ९ दशमलव २८ प्रतिशत हो। यस अवधिमा आन्तरिकतर्फ ५० अर्ब र बाह्यतर्फ ११ अर्ब ५ करोड रुपैयाँ ऋण उठाइएको छ।
ऋणको साँवा र ब्याज भुक्तानीका लागि सरकारले चालु आर्थिक वर्षमा ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। भदौ मसान्तसम्ममा ८५ अर्ब १ करोड ६ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। यो वार्षिक विनियोजनको २० दशमलव ३४ प्रतिशत हो। जिडिपीका आधारमा हालसम्मको कुल ऋण सेवा खर्च १ दशमलव २९ प्रतिशत रहेको कार्यालयले जनाएको छ।
