काठमाडौं। बलिउड अभिनेत्री जुही चावलाले आफ्नो व्यावसायिक साम्राज्यमा उल्लेख्य वृद्धि गरेकी छिन्। पछिल्लो एक वर्षको अवधिमा उनको कुल सम्पत्ति ४,६०० करोड रुपैयाँबाट बढेर ७,७९० करोड रुपैयाँ पुगेको छ।
यो रकम करिब ८८० मिलियन अमेरिकी डलर बराबर हो। हुरुन इन्डिया रिच लिस्टको पछिल्लो तथ्यांकअनुसार उनी भारतकी सबैभन्दा धनी अभिनेत्री बनेकी छिन् र विश्वका धनी कलाकारहरूको सूचीमा समेत परेकी छिन्।
चावलाको यो सफलताको मुख्य श्रेय उनको चलचित्र बाहिरका लगानी र व्यावसायिक साझेदारीलाई दिइएको छ। उनका पति जय मेहतासँग मिलेर उनले विभिन्न क्षेत्रमा लगानी विस्तार गरेकी छिन्।
उनी शाहरुख खानसँग मिलेर रेड चिलिज इन्टरटेनमेन्टकी सह-संस्थापक हुन्। यसका साथै, उनी नाइट राइडर्स स्पोर्ट्स इकोसिस्टमसँग पनि आबद्ध छिन्। सन् २०२२ मा कोलकाता नाइट राइडर्सको मूल्यांकन १.१ बिलियन डलर पुगेको थियो, जसले उनको क्रिकेट व्यवसायको व्यापकतालाई प्रस्ट पार्छ।
अभिनेत्री चावलाले पछिल्लो समय ‘गुलाब ग्याङ’, ‘चक एन डस्टर’, ‘एक लड्की को देखा तो ऐसा लगा’, ‘शर्माजी नमकिन’ र ‘फाइडे नाइट प्लान’ जस्ता चलचित्रहरूमा अभिनय गरेकी छिन्। यद्यपि, उनको हालको आर्थिक हैसियत चलचित्रको बक्स अफिस कमाइभन्दा बढी व्यावसायिक लगानीबाट आर्जित भएको छ। एक सफल अभिनेत्रीका रूपमा चिनिएकी चावलाले पर्दा पछाडि एक बलियो व्यावसायिक साम्राज्य खडा गरेकी छिन्।
