काठमाडौं – सरकारले खेलकुद क्षेत्रको बृहत्तर विकासका लागि सातै प्रदेशमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ। उक्त प्रयोजनका लागि खेलकुद पूर्वाधार सुदृढीकरण तथा नयाँ नर्माण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
बिहीबार मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक ई. रवीन्द्र बोहरा र राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
सो अवसरमा शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले सात वटै प्रदेशका २७ स्थानमा खेल पूर्वाधार बनाउन लागिएको जानकारी दिए। ‘हामीले पहिला देखि नै देखेको सपना ग्रास रुटबाट खेलाडी उत्पादन गर्ने भनेको त्यसमा चाही एक कदम अगाडी बढेका छौँ,’ उनले भने,‘त्यस्तै,पाठ्यक्रममा खेलकुदलाई पनि समावेश गरेर लैजाने सुरुदेखिकैयोजना अनुरुप अहिले पाठ्यक्रम पुनःनिर्माण गर्नेक्रममा पाठ्यक्रम र खेलकुदलाई कसरी जोडेर लैजान सकिन्छ भनेर खेलकुद क्षेत्रलाई नै प्रतिनिधित्व हुनेगरी पाठ्यक्रम बनाउने कार्यदलमा खेलाडीहरुलाई पनि समावेश गरेका छौ।,’
उनले यसबाट विद्यालयतहबाटै खेलकुदप्रति आकर्षण बढाउन नयाँ बन्ने पूर्वाधारले सहज हुने विश्वास व्यक्त गरेका छन्। मन्त्री पोखरेलले नेपालको खेलकुद क्षेत्रको विकासका तल्लो तहदेखि खेलकुद पूर्वाधारमा लगानी गर्ने सरकारको योजना अनुरुप नयाँ पूर्वाधार निर्माणका लागि समझदारी भएको उल्लेख गरे। ‘नेपालको विभिन्न प्रदेश र जिल्लामा खेलकुद पूर्वाधार राम्रो नभएकाले खेलाडीहरु पनि ग्रास रुटबाट उत्पादन गर्न सकेका छैनौ । यही क्रममा पहिलो चरणमा सात वटै प्रदेशमा क्रिकेट रंगशाला, फुटबल रंगशाला र कभर्ड हल तीन क्षेत्रलाई आधार बनाएर लगभग सबै खेलहरुसञ्चालन हुनेगरी पूर्वाधार बनाउन लागेका हौं,’उनले भने।
राखेपका सदस्यसचिव राम चरित्र मेहताले खेलकुदका नयाँ अत्याधुनिक पूर्वाधार निर्माण गर्ने लक्षयसहित भएको साझेदारीले खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
सरकारले चालु आर्थिक वर्षको बजेटमा नयाँ खेलकुद पूर्वाधार निर्माण तथा उपलब्ध खेलकुद पूर्वाधारको अधिकतम उपयोग हुने गरी आवश्यक मर्मत, सम्भार, पुर्ननिर्माण, स्तरोन्नत्ति तथा सुदृढीकरण गर्न समावेश गरेको थियो । जसअनुसार खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशालासहितको स्तरोन्नत्ति गर्ने, प्रमुख आठ सरहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने, विराटनगर, लहान, काठमाडौ, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा दुई हजार क्षमताका इन्डोर मल्टिपर्पोज स्टेडियम आगामी तीनवर्षभित्र निर्माण गर्ने लक्ष्य लिइएको छ।
त्यसैगरी मुलपानी क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालीटी तय गर्ने बजेटमा उल्लेख छ।
