चितवन। चितवनमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४३ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार, गत साउन र भदौमा भएका ती दुर्घटनामा ८७ जना घाइते भएका छन्। साउनमा २३ वटा सवारी दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको थियो भने ६० घाइते भएका थिए। भदौमा २० वटा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो। यस्तै, २७ जना घाइते भएको कार्यालयका निमित्त कार्यालय प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक विष्णु थापाले जानकारी दिए।
सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ५५२ वटा सवारीसाधनलाई कारबाही गरिएको छ। कारबाहीबाट ३१ लाख ४८ हजार ५०२ राजस्व संकलन भएको थापाले जानकारी दिए।
आव २०८२/८३ मा चितवनमा ५४५ सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा १०५ जनाको मृत्यु भएको थियो भने ९०२ जना घाइते भएका थिए।
