काठमाडौं। आनन्द फाउन्डेसन नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ। सो रकम रसुवा र भोटेकोशी क्षेत्रका बाढी प्रभावितहरूको राहत तथा पुनर्स्थापना कार्यका लागि प्रदान गरिएको हो।
फाउन्डेसनले उक्त सहयोग रकम अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई हस्तान्तरण गरेको छ। फाउन्डेसनका अनुसार उक्त रकम संस्थाका सदस्य तथा शुभेच्छुकहरूबाट सामूहिक रूपमा सङ्कलन गरिएको हो।
सामाजिक सेवा र मानवीय सहयोगमा सक्रिय रहेको आनन्द फाउन्डेसनले विपद् प्रभावित समुदायलाई सघाउनुका साथै स्वास्थ्य, शिक्षा र सामाजिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
आगामी दिनमा पनि नेपाल सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गरी राहत र सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने फाउन्डेसनले जनाएको छ।
