काठमाडौं। सप्तकोशी नदीमा जल सतह निरन्तर बढेपछि कोशी ब्यारेजका ३१ ढोका खोलिएका छन्। अपराह्न २:१५ बजेसम्मको मापनअनुसार नदीमा पानीको बहाव २ लाख ४० हजार ५५५ क्युसेक पुगेको छ। यो जल सतह उच्च खतराको संकेत भएको स्थानीय प्रशासनले जनाएको छ।
बाढी पूर्वानुमान महाशाखाले चतारा क्षेत्रमा बाढीको बहाव बढ्दो क्रममा रहेको भन्दै नदीको तल्लो तटीय क्षेत्र र डुबान भइरहने स्थानमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कोशी परियोजनाका अनुसार पानीको बहाव बढेसँगै भारतको विहार क्षेत्रमा पनि जोखिम बढेको छ। नेपालतर्फबाट ब्यारेजका ढोकाहरू जति धेरै खोलिन्छ, विहारमा त्यति नै जोखिम बढ्ने परियोजनाले जनाएको छ।
