काठमाडौं। प्रविधि, उद्यमशीलता, डिजिटल नोमाडिज्म र पर्यटनलाई जोड्ने उद्देश्यले पोखरामा नोमाड्स बेसक्याम्प २०२६ सुरु भएको छ।
सेप्टेम्बर २५ देखि २७ सम्म सञ्चालन हुने उक्त कार्यक्रममा डिजिटल नोमाड, उद्यमी, स्टार्टअप संस्थापक, प्रविधि विज्ञ र रिमोट वर्करहरूको सहभागिता रहेको छ।
पोखरा पर्यटन परिषद् र साराङ सर्भिसेस प्रालिको संयुक्त आयोजना तथा वाइएनएफ पोखरा च्याप्टरको साझेदारीमा कार्यक्रम सञ्चालन भइरहेको छ। कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स, स्टार्टअप, डिजिटल उद्यमशीलता, मोबाइल गेमिङ र युवा सशक्तीकरण जस्ता विषयमा छलफल तथा अन्तरक्रिया हुनेछ। यसका साथै अन्तर्राष्ट्रिय पर्यटन, ग्लोबल मोबिलिटी, डेस्टिनेसन डेभलपमेन्ट र आतिथ्य सत्कारका विषयमा पनि प्रस्तुतिहरू रहनेछन्।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलका अनुसार कार्यक्रमको दोस्रो दिन ध्यान, योग र प्रविधिसम्बन्धी सत्रहरू राखिएका छन्। सहभागीहरूका लागि मादीमा ७ र १२ किलोमिटरको ‘मादी रन’ तथा एडभेन्चर एक्सपेरियन्सको व्यवस्था गरिएको छ।
आयोजकका अनुसार नोमाड्स बेसक्याम्पले पोखरालाई परम्परागत पर्यटकीय गन्तव्यका साथै उद्यमशीलता, प्रविधि र सिर्जनशीलताको हबका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। यस कार्यक्रमले स्थानीय पर्यटन व्यवसायी, होटल र रेस्टुरेन्टहरूलाई नेपाल तथा विदेशबाट आउने डिजिटल नोमाड र रिमोट प्रोफेसनलहरूसँग जोड्ने अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
