काठमाडौं: तराई र भित्री मधेसका विभिन्न जिल्लामा केही दिनयता जारी निरन्तरको हावाहुरी र वर्षाले उखु खेतीमा ठूलो क्षति पुर्याएको छ। यसले गर्दा किसानहरू चिन्तित बनेका छन्।
सिरहाको विष्णुपुर गाउँपालिका-१ का किसान गोपिन्द्र यादवले हावाहुरीका कारण आफ्नो उखु खेतीमा भएको क्षतिबारे जानकारी दिँदै लगानीसमेत नउठ्ने चिन्ता व्यक्त गरेका छन्। उनले दुई बिघाभन्दा बढी क्षेत्रफलमा करिब ४ लाख रुपैयाँ लगानी गरेर उखु खेती गरेका थिए।
हावाहुरी र वर्षाले उखुबाली ढलाएपछि यादवले आम्दानीको लक्ष्य गुमाएका छन्। उनले यस वर्ष उखु बिक्रीबाट करिब १० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरेका थिए। तर, अहिले हावाहुरीले बालीमा क्षति पुर्याएपछि उनले आफ्नो लगानी नै डुब्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्।
