काठमाडौं: ४७औँ विश्व पर्यटन दिवसका अवसरमा बागमती प्रदेश पर्यटन कार्यालयले आइतबार काठमाडौंमा एकदिने चित्रकला तथा फोटो प्रदर्शनी आयोजना गरेको छ।
प्रदर्शनीमा बागमती प्रदेशको पर्यटकीय, प्राकृतिक र सांस्कृतिक पहिचान झल्किने कलाकृतिहरू राखिएका छन्। पर्यटन कार्यालय बागमती प्रदेशका प्रमुख पवनकुमार पोखरेलका अनुसार प्रदर्शनीमा १६ जना कलाकारका २१ वटा विभिन्न विधाका उत्कृष्ट कलाकृतिहरू समावेश गरिएको छ।
यस प्रदर्शनीमा बागमती प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य, सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। साथै, नेपालमा प्रचलित परम्परागत र आधुनिक कला शैलीका विविध पक्षहरूलाई पनि कलामार्फत देखाइएको छ।
प्रदर्शनीमा कलाकारहरू एससी सुमन, केशवराज खनाल, देवेन्द्र थुम्केली, नरबहादुर विक, प्रदीप अधिकारी, शोभा ढकाल, देवासी काफ्ले, प्रकाश मिजार, सञ्जय प्रधान, सिकन्दर चौधरी, बाबुराम पौडेल र नारायण ढुङ्गानालगायतका स्रष्टाहरूका कलाकृतिहरू राखिएका छन्।
