काठमाडौं: अजय देवगन अभिनित बहुप्रतिक्षित चलचित्र ‘दृश्यम ३’ को प्रदर्शनका लागि चार दिन बाँकी रहँदा अग्रिम बुकिङमा उत्साहजनक व्यापार देखिएको छ। गान्धी जयन्तीको अवसरमा रिलिज हुन लागेको यस चलचित्रले पहिलो दिनको अग्रिम बुकिङबाटै ३.७७ करोड भारुको ग्रस कलेक्सन पार गरिसकेको छ।
भारतभर करिब ६ हजार ५०० शोहरू अग्रिम बुकिङका लागि खुला गरिएको छ। हालसम्म ९० हजार ४०० टिकट बिक्री भइसकेका छन्। चलचित्रको व्यापार मुख्य सहरहरूमा केन्द्रित देखिएको छ। दिल्ली र महाराष्ट्रले रिलिज हुनुभन्दा अगाडि नै १ करोड भारुको ग्रस कलेक्सनको आँकडा पार गरिसकेका छन्।
सेप्टेम्बर २८ को दिउँसो २ बजेसम्मको तथ्यांक अनुसार दिल्लीमा ९९२ शोहरूबाट १.०४ करोड भारु र महाराष्ट्रमा १ हजार ५१२ शोहरूबाट १.२१ करोड भारु संकलन भएको छ। मुम्बईमा ५ वटा शो र मध्य प्रदेशमा १ वटा शो पूर्ण रूपमा हाउसफुल भइसकेका छन्।
अजय देवगनका साथै तब्बु, श्रिया सरन र जयदीप अहलावतको मुख्य भूमिका रहेको यस चलचित्रलाई लिएर दर्शकमा उच्च उत्सुकता देखिएको छ। अक्टोबर २ मा रिलिज हुन लागेको यस चलचित्रले अजय देवगनको करिअरकै सबैभन्दा ठूलो ओपनिङ गर्ने अनुमान गरिएको छ।
