काठमाडौं । ग्लोबल आइएमई बैंकमा ०.५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका ठूला सेयरधनीको संख्या १८ रहेको छ। बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार व्यक्तिगत, संस्थागत तथा सरकारी निकायका गरी १८ लगानीकर्तासँग बैंकको उल्लेख्य सेयर स्वामित्व रहेको छ।
ठूला सेयरधनीमध्ये अधिकांशको स्वामित्व समीक्षा वर्षमा यथावत रहेको छ। तीन लगानीकर्ताको भने सेयर हिस्सा बढेको देखिएको छ। सेयर स्वामित्व बढाउनेमा एक संस्था र दुई व्यक्तिगत लगानीकर्ता रहेका छन्।
बैंकमा सबैभन्दा ठूलो सेयर स्वामित्व सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोषको रहेको छ। कोषसँग ग्लोबल आइएमई बैंकको ४.७४ प्रतिशत अर्थात् १ करोड ८० लाख ८४ हजार १९ कित्ता सेयर रहेको छ।
दोस्रो ठूलो सेयरधनीका रूपमा आइएमई होल्डिङ्ग्स प्रालि रहेको छ। कम्पनीसँग बैंकको २.७८ प्रतिशत अर्थात् १ करोड ५ लाख ९० हजार ३३० कित्ता सेयर रहेको छ। तेस्रो स्थानमा रहेको आइएमई इन्भेष्टमेन्ट प्रालिसँग २.५१ प्रतिशत अर्थात् ९५ लाख ५४ हजार १६० कित्ता सेयर छ।
व्यक्तिगत लगानीकर्तातर्फ सुमित कुमार अग्रवाल सबैभन्दा अगाडि छन्। उनको बैंकमा १.८२ प्रतिशत अर्थात् ६९ लाख ४३ हजार ४७० कित्ता सेयर स्वामित्व रहेको छ। त्यस्तै, विष्णु प्रसाद न्यौपानेसँग १.४१ प्रतिशत अर्थात् ५३ लाख ८३ हजार ५२१ कित्ता सेयर रहेको छ।
संस्थागत लगानीकर्तामध्ये नागरिक लगानी कोषसँग ०.९२ प्रतिशत अर्थात् ३४ लाख ९६ हजार ९५४ कित्ता सेयर रहेको छ।
समीक्षा वर्षमा कन्टिनेण्टल इन्भेष्टमेन्ट प्रालिको सेयर स्वामित्व १.१५ प्रतिशतबाट बढेर १.१८ प्रतिशत पुगेको छ। व्यक्तिगत लगानीकर्तातर्फ गौरी श्रेष्ठको स्वामित्व ०.५७ प्रतिशतबाट बढेर ०.६३ प्रतिशत पुगेको छ। सन्दीप अग्रवालको स्वामित्व पनि ०.५२ प्रतिशतबाट बढेर ०.५८ प्रतिशत पुगेको छ।
बैंकका अन्य ठूला सेयरधनीमा उत्तम कुमार नेपालको ०.९० प्रतिशत, रण बहादुर शाहको ०.७८ प्रतिशत, निमिषा इन्भेष्टमेन्ट प्रालिको ०.७४ प्रतिशत, हेमराज ढकालको ०.६७ प्रतिशत र कामधेनु इन्भेष्टमेन्टको ०.६७ प्रतिशत सेयर रहेको छ।
त्यस्तै, होमल्याण्ड डेभलपर्ससँग ०.६६ प्रतिशत, क्याबिनेट श्रेष्ठसँग ०.६४ प्रतिशत, रिता मल्लसँग ०.५६ प्रतिशत र शारदा देवीसँग ०.५३ प्रतिशत सेयर स्वामित्व रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
