काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतसँग आर्थिक सहकार्य विस्तार गर्ने ठूलो सम्भावना रहेको बताएका छन्। उनले प्रमुख अन्तर्राष्ट्रिय पारवहन तथा ढुवानी मार्गको विकासमा नयाँदिल्लीसँग साझेदारी गर्न रुस इच्छुक रहेको उल्लेख गरे।
बिहीबार विश्वव्यापी यातायात मार्गको विकाससम्बन्धी कार्यक्रममा बोल्दै पुटिनले भारतसँगको सहकार्य रसद व्यवस्थापनमा मात्र सीमित नरहेको प्रस्ट पारे। उनले चीन र दक्षिण कोरियासँग व्यावसायिक जहाजमार्फत सहकार्य सुरु भइसकेको जानकारी दिँदै यस्ता अन्तर्राष्ट्रिय करिडोरको संयुक्त प्रयोगका लागि भारतसँग छलफल भइरहेको बताए।
अन्तर्राष्ट्रिय उत्तर-दक्षिण यातायात करिडोर (आईएनएसटीसी) को विकासका लागि रुस ऋण स्रोत उपलब्ध गराउन तयार रहेको पुटिनको भनाइ छ। यद्यपि, उनले यसका लागि इरानले आफ्नोतर्फको काम पूरा गर्नुपर्नेमा जोड दिए। करिडोरको केही हिस्सा अजरबैजान भएर जाने भएकाले त्यहाँका राष्ट्रपति इल्हाम अलियेभसँग पनि कुराकानी भइरहेको र उनी सहमत रहेको उनले जानकारी दिए।
यसैबीच, पुटिनले युक्रेन द्वन्द्व अन्त्यका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरिरहेको प्रयासको प्रशंसा गरेका छन्। मोदीले शान्तिपूर्ण समाधानका लागि निरन्तर जोड दिइरहेको उल्लेख गर्दै पुटिनले द्वन्द्व चाँडो अन्त्य गर्ने भारतीय प्रधानमन्त्रीको इच्छाप्रति आफूहरू आभारी रहेको बताए।
यसअघि अगस्टको सुरुमा रुसी उपप्रधानमन्त्री मारात खुसनुलिनले हर्मुज जलघाँटीको पारवहन जोखिम कम गर्न हिन्द महासागरसम्म प्रत्यक्ष रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्नुपर्ने बताएका थिए। उनले तुर्कमेनिस्तान, इरान, अफगानिस्तान र पाकिस्तान हुँदै भारतसम्म पुग्ने वैकल्पिक मार्गको प्रस्ताव गरेका थिए। अमेरिका, इजरायल र इरानबीचको तनावका कारण हर्मुज जलघाँटीमा बढेको अवरोधपछि वैकल्पिक व्यापार मार्गको चर्चा बढेको हो। विश्वको कुल तेल व्यापारको करिब २५ प्रतिशत र एलएनजी ढुवानीको करिब २० प्रतिशत हिस्सा सोही जलघाँटीबाट हुने गर्दछ।
