काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानुनहरूमा सुधार गरी विकास र लगानीका लागि सहज वातावरण निर्माण गर्न लागेको बताएका छन्। शुक्रबार पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशालामा मन्त्री लम्सालले सो कुरा बताएका हुन्।
मन्त्री लम्सालले लगानी र विकासका क्षेत्रमा देखिएका समस्याहरूलाई कानुनी रूपमै समाधान गरिने प्रतिबद्धता व्यक्त गरे। उनले राज्यको प्रणाली कानुनअनुसार चल्ने र यसले नै ठोस परिणाम दिने भन्दै सरकार नागरिकमैत्री कानुन निर्माणमा केन्द्रित रहेको उल्लेख गरे। उनले भने, ‘ऐन भनेको देशको ऐन हो। जस्तो ऐन हुन्छ, त्यस्तै राष्ट्र हुन्छ। अहिले हाम्रो ऐन जस्ता छन्, हाम्रो समाज पनि त्यस्तै छ। अहिलेको हाम्रो शहरी ऐन हेर्यो भने हाम्रो शहर पनि त्यस्तै छ। हाम्रो अहिले शिक्षा ऐन जस्तो छ, हाम्रो विद्यालय पनि सोहीअनुसार छन्।’
पूर्वाधार निर्माणका कामलाई थप गतिशील र प्रभावकारी बनाउन यस कार्यशालाले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए। मन्त्री लम्सालले कानुनको मस्यौदा तयार गर्दा त्यसलाई थप उत्कृष्ट बनाउने विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए। उनले सरकारले सार्वजनिक हितलाई केन्द्रमा राखेर नीतिगत परिवर्तन खोजेको स्पष्ट पारे। खरिद ऐनको सन्दर्भमा बोल्दै उनले निर्माण व्यवसायी संघले दिएका सुझावहरू नीतिगत परिवर्तनको पक्षमा नरहेकाले ती सबैलाई आत्मसाथ गर्न नसकिएको बताए।
