काठमाडौं। नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरिद प्रक्रियामा देखिएका प्राविधिक समस्या, साइबर सुरक्षा जोखिम र बोलपत्र पेस गर्दाको झन्झट समाधान गर्न सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ध्यानाकर्षण गराएको छ। महासङ्घका वरिष्ठ उपाध्यक्ष रामजी पन्तको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पीपीएमओका सचिव विश्वबाबु पुडासैनीसँग भेट गरी विद्यमान विद्युतीय खरिद प्रणाली (ई-जीपी) को स्तरोन्नति र सुरक्षाका विषयमा छलफल गरेको हो।
महासङ्घले प्रणालीमा उत्पन्न हुने समस्याले खरिद प्रक्रिया नै अवरुद्ध हुन नदिन वैकल्पिक व्यवस्थाको माग गरेको छ। व्यवसायीहरूले हार्डकपी र विद्युतीय दुवै माध्यमबाट बोलपत्र पेस गर्न सकिने व्यवस्था मिलाउन वा नयाँ बोलपत्र आह्वान तत्कालका लागि रोक्न आग्रह गरेका छन्। साथै, नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआउँदासम्म प्रकाशित भइसकेका बोलपत्रहरूको म्याद थप गर्नुपर्ने माग पनि महासङ्घले अघि सारेको छ।
यसबाहेक, नयाँ विद्युतीय प्रणालीको आवश्यक कानुनी, प्राविधिक तथा साइबर सुरक्षा परीक्षण छिटो सम्पन्न गरी कार्यान्वयनमा ल्याउन महासङ्घले जोड दिएको छ। छलफलका क्रममा पीपीएमओले विद्यमान प्रणालीलाई प्राविधिक र सुरक्षात्मक सुधारसहित ‘भर्सन-२’ का रूपमा स्तरोन्नति गरिरहेको जानकारी दिएको छ। कार्यालयका अनुसार हाल उक्त नयाँ प्रणालीको डेमो तथा परीक्षण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ।
