काठमाडौं। अविरल वर्षाका कारण अवरुद्ध मुस्ताङ भन्सार कार्यालयको सेवा पुनः सुचारु भएको छ।
असोज ८ गतेदेखि १२ गतेसम्मको बाढीपहिरोले कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडकखण्डमा क्षति पुर्याएपछि विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा भन्सारको काम ठप्प भएको थियो।
लोमान्थाङ गाउँपालिका-४, नेचुङमा रहेको भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार विद्युत् र इन्टरनेटको समस्या आंशिक रूपमा समाधान भएपछि कार्यालयले पुनः सेवा प्रवाह सुरु गरेको छ।
चुडालले भन्नुभयो, “अहिले पनि सहज छैन, केही काम भएको छ। कार्यालयमै बसेर सेवा दिइरहेका छौँ। जाँचपास रोकिँदा भन्सार कार्यालयबाट राजस्व असुलीमा प्रत्यक्ष असर परेको थियो।”
सञ्चार सेवा अझै पूर्ण रूपमा सुचारु हुन नसकेको कार्यालयले जनाएको छ। भन्सार जाँचपास भएका मालबाहक सवारीसाधन जोमसोमसम्म पुगेका छन्। हाल कोरला नाका र भन्सार क्षेत्रमा सवारीसाधनको अत्यधिक चाप छ। रसुवागढी भन्सार कार्यालय बाढीका कारण प्रभावित भएपछि आयातको चाप कोरला नाकातर्फ बढेको छ।
समुद्र सतहबाट ४,६५० मिटर उचाइमा रहेको कोरला नाकाबाट जाँचपास भएका मालसामान १८६ किलोमिटरको कोरला-जोमसोम-बेनी सडकखण्ड हुँदै पोखरा पुर्याइन्छ। म्याग्दीका चार स्थानमा सडक अझै अवरुद्ध रहेकाले सवारीसाधनको आवतजावतमा कठिनाइ कायमै छ।
चालु आर्थिक वर्ष २०८३-८४ को साउन र भदौ महिनामा मात्रै यस कार्यालयले तीन अर्ब आठ करोड रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको थियो।
