काठमाडौं। नेपाल महिला चेम्बरको आयोजनामा जमलस्थित नेपाल चेम्बर अफ कमर्सको भवनमा शनिबारदेखि ‘चेम्बर बजार’ सुरु भएको छ।
महिला उद्यमी तथा व्यवसायीद्वारा उत्पादित वस्तुहरूको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले यो बजार सञ्चालनमा ल्याइएको हो। बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तकलाका सामग्री तथा साल्ट ट्रेडिङ लगायतका स्टलहरू राखिएका छन्।
मेलाको उद्घाटन सत्रमा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पुर्याउन र व्यवसाय विस्तारमा सहयोग गर्न बजारले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
“महिला उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पुर्याउने हाम्रो प्रयास हो,” श्रेष्ठले भने, “उत्पादनसँगै व्यवसाय विस्तारका लागि पनि सहयोग पुग्नेछ।”
चेम्बरका पूर्वाधार तथा भूमि सुधार समिति सभापति रोशन भयोद्योले यस्ता मेलाको विस्तार आवश्यक रहेको बताउँदै स्थानीय तथा स्वदेशी उत्पादन सहज रूपमा खरिद गर्न उपभोक्तालाई अवसर मिल्ने उल्लेख गरे।
नेपाल महिला चेम्बरकी सचिव इरा प्रसाईंले यसलाई व्यापारिक कारोबारमा मात्र सीमित नराखी महिला उद्यमीको आर्थिक सशक्तीकरण, सीप विकास र बजार पहुँच विस्तारको अभियानका रूपमा अघि बढाउने लक्ष्य रहेको बताए।
मेलाकी संयोजक अनिता अमात्य श्रेष्ठका अनुसार बजारमा उत्पादनको बिक्री तथा प्रवर्द्धनका साथै उद्यमशीलता विकाससम्बन्धी गतिविधिहरू पनि सञ्चालन गरिनेछ। यसका साथै, उद्यम गरिरहेका वा व्यवसाय सुरु गर्न इच्छुक महिलाका लागि सरकारी प्रक्रिया, व्यवसाय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी आयोजकले गरेको छ। नेपाल महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकारले यस मेलाले महिला उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
