काठमाडौं। करिब १२ वर्षदेखि विभिन्न प्रक्रियागत अवरोधका कारण रोकिएको हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनको निर्माण कार्य अहिले निर्णायक चरणमा पुगेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौंडा क्षेत्रमा बाँकी रहेका १४ वटा टावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।
मुआब्जा वितरण, जग्गा प्राप्ति र अन्य प्रक्रियागत जटिलताका कारण लामो समयदेखि प्रभावित उक्त आयोजनालाई गति दिन स्थानीय बासिन्दा, जनप्रतिनिधि, जिल्ला प्रशासन, सरोकारवाला निकाय र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी निरन्तर पहल गरिएको मन्त्री श्रेष्ठले बताए।
मन्त्री श्रेष्ठले निर्माण कम्पनीलाई बाँकी काम तोकिएको समयभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन्। साथै, उनले प्राधिकरणका सम्बन्धित शाखा र निकायहरूलाई आवश्यक सहजीकरण र समन्वयलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।
यो प्रसारण लाइनको काम सम्पन्न भएपछि पूर्व-पश्चिम विद्युत् प्रवाह थप सुदृढ र भरपर्दो हुने मन्त्री श्रेष्ठको भनाइ छ। यसले औद्योगिक क्षेत्रको विद्युत् माग सम्बोधन गर्न, अन्तर्देशीय विद्युत् व्यापार विस्तार गर्न र वर्षायाममा बढी हुने विद्युत् खेर जान नदिन सहयोग पुग्ने उनले बताए।
मन्त्री श्रेष्ठले भने, ‘अब ढिलाइ होइन, गति, समन्वय र परिणाम चाहिएको छ।’ उनले प्रसारण लाइनलाई छिट्टै पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
