पाँचथर। पाँचथरको फिदिम नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु ४७ लाख ४९ हजार रकम सहयोग गरेको छ।
फिदिम नगरपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए।
भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, पुनर्स्थापना तथा राहतका लागि जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट रकम सङ्कलन गरिएको उनले बताए।
फिदिम नगरपालिकाले दैवी विपत्तिमा सबै निकायबिच सहकार्य भए मात्रै राहत, उद्धार र पुनर्स्थापना प्रभावकारी हुनसक्ने भन्दै यसका लागि तीन तहका सरकारबिच पनि प्रभावकारी समन्वयको आवश्यकता रहेको जनाएको छ।
फिदिम नगरपालिकाले भोटेकोशी बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेको छ।
