काठमाडौं। बागमती प्रदेश सरकारले प्रदेशभित्रका पवित्र शिवालय तथा शैव धार्मिकस्थलहरूलाई एउटै पर्यटकीय मार्गमा जोड्ने उद्देश्यले ‘शिव सर्किट’ परियोजना अघि बढाएको छ।
धार्मिक र सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्दै पर्यटकको बसाइ अवधि लम्ब्याउने र यसबाट प्रदेशको अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्य सरकारले राखेको छ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले यस परियोजनामार्फत भक्तपुरसहित प्रदेशका महत्वपूर्ण धार्मिक स्थलहरूलाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताए। उनले यसले तीर्थयात्री तथा पर्यटकहरूलाई एउटै यात्रामा विभिन्न धार्मिक स्थलहरूको भ्रमण गर्ने अवसर प्रदान गर्ने र प्रदेशको सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री थापाले भने, ‘धार्मिक, सांस्कृतिक, पारम्परिक र ऐतिहासिक पर्यटकीय नगरी भक्तपुर तथा शिव सभ्यताको केन्द्रबिन्दु बागमती प्रदेशभित्र रहेका सम्पूर्ण पवित्र शिवालय तथा शैव धार्मिकस्थललाई एक परिपथ परियोजनामार्फत जोड्दै हाल कायम रहेको पर्यटकहरूको बसाइ अवधि लम्ब्याउने र राष्ट्रको जिडिपीमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गर्ने अवधारणा प्रदेश सरकारले कार्यान्वयनको चरणमा पुर्याएको छ।’
बागमती प्रदेशलाई ध्यान, योग र ज्ञानको प्राचीन भूमि भन्दै मुख्यमन्त्री थापाले नेपालको मौलिक ज्ञान र संस्कृतिलाई विश्वसामु पुर्याउनुपर्नेमा जोड दिए। उनले भने, ‘यो पवित्र भूमि कोइलाभित्र लुकेर बसेको हिराजस्तो भएको छ। अब उक्त हिरालाई कोइलाबाट बाहिर निकालेर विश्वसामु चम्काउने अभिभारा हाम्रो काँधमा आइपुगेको छ।’
प्रदेश सरकारले यो परियोजनालाई स्थानीय रोजगारी, होटल तथा पर्यटन व्यवसाय र सांस्कृतिक सम्पदाको संरक्षणसँग जोड्ने लक्ष्य लिएको छ। परियोजना कार्यान्वयनमा आएपछि धार्मिक तथा ऐतिहासिक गन्तव्यहरू एउटै मार्गमा जोडिने र यसले लामो समयसम्म पर्यटकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
