काठमाडौं। बडादसैँ नजिकिएसँगै काठमाडौँका भृकुटीमण्डपलगायत विभिन्न खुला बजारमा किनमेल गर्ने ग्राहकको चाप ह्वात्तै बढेको छ। दसैँका लागि नयाँ कपडा र आवश्यक सामग्री खरिद गर्न पुग्नेहरूको चहलपहल अन्य समयको तुलनामा निकै बढेको छ।
भृकुटीमण्डपस्थित फेन्सी पसलका व्यापारी अशोक खतिवडाका अनुसार केही दिनयता बजारमा ग्राहकको आवागमन बाक्लिएको छ। विशेषगरी बालबालिका, युवा र ज्येष्ठ नागरिकका लागि कपडा खरिद गर्नेहरूको सङ्ख्या उल्लेख्य छ। खतिवडाले भने, “दसैँ नजिकिँदै गएपछि कपडा किन्ने ग्राहकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ। आज बिहानदेखि बजारमा पहिलेभन्दा बढी चहलपहल देखिएको छ।”
अर्का व्यापारी श्यामप्रकाश अधिकारीले दसैँमा नयाँ कपडा लगाउने नेपाली परम्पराका कारण व्यापार बढेको बताए। उनले भने, “भृकुटीमण्डपमा दसैँका लागि आवश्यक कपडादेखि जुत्ता, चप्पल, बालबालिकाका सामग्री तथा दैनिक उपभोगका विभिन्न सामान खरिद गर्ने ग्राहकको समेत उपस्थिति बढेको छ।” एउटै स्थानमा विविध सामान पाइने र आफ्नो बजेटअनुसार छनोट गर्न सकिने भएकाले खुला बजारमा ग्राहकको आकर्षण बढेको व्यापारीहरूको भनाइ छ। सीमित आम्दानी भएका परिवारका लागि यस्ता बजार मुख्य रोजाइमा पर्ने गरेका छन्।
सुन्धारास्थित सडकपेटीमा व्यापार गर्दै आएकी सङ्गीता न्यौपानेले चाडपर्वमा परिवारका लागि कपडा खरिद गर्दा ग्राहकले मूल्य र गुणस्तर दुवैमा ध्यान दिने गरेको बताइन्। यसका साथै, मौसममा सुधार आउन थालेकाले ज्याकेट, स्विटर, हुडीजस्ता न्यानो कपडा किन्नेहरूको सङ्ख्या पनि बढ्दो छ। व्यापारी हरिकृष्ण कँडेलका अनुसार चिसो सुरु भएसँगै न्यानो कपडाको माग बढेको हो।
व्यापारीहरूले दसैँलाई लक्षित गरी विभिन्न डिजाइन र रङका सामानहरूको मौज्दात बढाएका छन्। आगामी दिनमा असन, इन्द्रचोक, न्युरोड र सुन्धाराजस्ता क्षेत्रमा ग्राहकको चाप अझ बढ्ने व्यवसायीहरूको अपेक्षा छ। चाडपर्वका लागि किनमेल गर्न उपत्यकाका बासिन्दाका साथै बाहिरी जिल्लाबाट आएका नागरिकसमेत बजारमा व्यस्त देखिएका छन्।
