काठमाडौं। दसैँलाई लक्षित गर्दै कर्णाली प्रदेशको डोल्पाबाट च्याङ्ग्रा पोखरा ल्याउन थालिएको छ। दसैँ सुरु हुन करिब दुई साता बाँकी रहँदा नै बिक्रीका लागि च्याङ्ग्रा पोखरा भित्रिएका हुन्।
व्यापारी दुःखीराम बोहोराले डोल्पाबाट करिब २५ दिन लगाएर च्याङ्ग्रा पोखरा ल्याएको जानकारी दिनुभयो। जुम्लाको गोठीचौर-२ का बोहोराले पहिलो पटक करिब एक सय वटा च्याङ्ग्रा बिक्रीका लागि पोखरा ल्याउनुभएको हो। उहाँले बाटोमा दुई-तीन दिन आराम गर्दै यात्रा पूरा गरेको बताउनुभयो। त्यस्तै जुम्लाकै मिमप्रसाद बोहोराले २२ दिन लगाएर ल्याएका एक सय च्याङ्ग्रामध्ये ३० वटा बिक्री भइसकेका छन्।
डोल्पाबाट दुई टोलीले च्याङ्ग्रा ल्याएसँगै पोखरामा अहिले मूल्य उच्च रहेको व्यापारी बताउँछन्। बजारमा साना च्याङ्ग्रा २२ हजारदेखि ठूला च्याङ्ग्रा ४५ हजार रुपियाँसम्ममा बिक्री भइरहेका छन्। सामान्यतया दसैँका बेला च्याङ्ग्राको मासु खाने चलन रहेकाले उपभोक्ताको आकर्षण बढेको व्यापारीको भनाइ छ।
पोखरामा मुख्य रूपमा मनाङ, मुस्ताङ र म्याग्दीबाट भेडाच्याङ्ग्रा ल्याउने गरिएकामा पछिल्ला केही वर्षयता पश्चिम नेपालबाट समेत च्याङ्ग्रा ल्याउन थालिएको छ। मुस्ताङका च्याङ्ग्रा भने हालसम्म पोखरा आइपुगेका छैनन्। असोज ८ देखि ११ गतेसम्म परेको वर्षाका कारण बाटो बिग्रिएपछि यस वर्ष च्याङ्ग्रा ल्याउन ढिलाइ भएको हो।
