काठमाडौं। आगामी असोज २५ गते घटस्थापनाबाट सुरु हुने दसैंमा काठमाडौं उपत्यकाबाट सार्वजनिक यातायात प्रयोग गरी १० लाखभन्दा बढी यात्रु बाहिरिने अनुमान गरिएको छ। प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले सार्वजनिक गरेको प्रतिवेदनअनुसार दसैं, तिहार र छठका समयमा उपत्यका छोड्ने यात्रुको संख्या १० देखि १५ लाखसम्म पुग्न सक्नेछ।
समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा तयार पारिएको उक्त प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाह र पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई बुझाइसकिएको छ। प्रतिवेदनले यात्रुको चाप धान्न न्यूनतम ४३ हजार ५७४ देखि अधिकतम ६५ हजार ३६१ ट्रिप सार्वजनिक सवारी साधन आवश्यक पर्ने देखाएको छ। असोज ३१ गते फूलपातीका दिन सबैभन्दा बढी ७५ हजार ५२२ देखि एक लाख १३ हजार २८३ यात्रु बाहिरिने अनुमान छ।
सवारी साधनको मागमा ठूला बसको हिस्सा ४८ प्रतिशत, माइक्रोबसको ४३ प्रतिशत र मिनी बसको नौ प्रतिशत रहने उल्लेख छ। सर्वेक्षणमा सहभागी ३९ प्रतिशत यात्रुले डिलक्स, एसी तथा पर्यटक बस प्रयोग गर्ने बताएका छन्।
दसैंका लागि सरकारले अग्रिम टिकट बुकिङ खुलाउने मिति अझै तय गरेको छैन। यसले गर्दा दुर्गम क्षेत्रमा जाने यात्रु अन्योलमा छन्। केही यातायात काउन्टरले सरकारले तोकेको भाडादरभन्दा पाँच सयदेखि एक हजार रुपैयाँसम्म बढी असुल्ने गरेको यात्रुको गुनासो छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले औपचारिक बुकिङबारे निर्णय नभए पनि केही दिनपछिका लागि टिकट बिक्री भइरहेको बताएका छन्।
बाढीपहिरोका कारण सडकको अवस्था जोखिमपूर्ण बनेको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढी तथा पछिल्लो वर्षाले धादिङ, नुवाकोट र रसुवाका सडक तथा पुलमा क्षति पुर्याएको छ। भक्तपुर, नागढुंगा, फर्पिङ, भीमढुंगा, साँखु, टोखा र तीनपिप्ले नाकाबाट बढी चाप हुने अनुमान छ।
