काठमाडौं। चीनले मुस्ताङको कोरला नाकालाई अन्तर्राष्ट्रिय व्यापारिक नाकाका रूपमा स्तरोन्नति गर्ने प्रस्ताव नेपालसमक्ष राखेको छ।
ल्हासास्थित नेपाली महावाणिज्य दूत लक्ष्मी निरौलाका अनुसार चीन यस नाकालाई अन्तर्राष्ट्रिय स्तरमा सञ्चालन गर्न सहमत देखिएको छ। नाका सञ्चालनमा आएपछि नेपाल र अन्य देशका नागरिकले यस मार्ग हुँदै चीन आवतजावत गर्न पाउनेछन्।
चीनले कोरला नाकाको पूर्वाधार निर्माणमा आवश्यक सहयोग गर्न समेत तत्परता देखाएको छ। यसै सिलसिलामा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहितको ७ सदस्यीय टोलीले हालै मुस्ताङ पुगेर नाकाको अवस्था र नेपालतर्फको सडक सञ्जालको अवलोकन गरेको थियो। मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले चिनियाँ टोलीले स्थलगत अवस्थाबारे जानकारी लिएको पुष्टि गरिन्।
हाल सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका बन्द रहेकाले चीनले कोरलालाई तेस्रो विकल्पको रूपमा अघि सारेको हो। महावाणिज्य दूत निरौलाका अनुसार चीनले तातोपानी नाका दशैँअघि नै सञ्चालनमा ल्याउने सम्भावना छ। अक्टोबर १ मा मनाइने चिनियाँ राष्ट्रिय दिवसको बिदा सकिएलगत्तै यस विषयमा ठोस निर्णय आउन सक्ने उनले बताए।
यद्यपि, पूर्वसचिव गोपाल प्रसाद सिग्देलले चीनको नाका सञ्चालन नीतिबारे स्पष्टताको अभाव रहेको औँल्याए। उनले चीनले रसुवाको विकल्पका रूपमा कोरलालाई हेरे पनि स्थायी सञ्चालनबारे ठोस प्रतिबद्धता नजनाएको बताए। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु शेर्पाले भने चीनले सहयोगको आश्वासन दिएको अवस्थामा नेपालले नाका स्तरोन्नतिका लागि कूटनीतिक पहल बढाउनुपर्नेमा जोड दिए।
सन् १९५० को दशकमा तिब्बती खम्पा विद्रोहका कारण सुरक्षा संवेदनशीलता बढेपछि यो नाकामा आवतजावतमा कडाइ गरिएको थियो। सन् १९७४ मा खम्पा लडाकु निशस्त्र भएपछि स्थितिमा सुधार आए पनि सीमा क्षेत्रमा तारबार लगाइएको थियो। लामो समयको प्रयासपछि २०८० कात्तिक २७ गते यो नाका औपचारिक रूपमा खुलाइएको थियो। ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित यस नाकामा चीनले हाल खानेपानी र शौचालय लगायतका आधारभूत सुविधा उपलब्ध गराउँदै आएको छ।
