काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले युवालाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन् ।
नेपाल बिजनेस इन्स्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) द्वारा आयोजित पाँचौँ संस्करणको ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०२६’ लाई सम्बोधन गर्दै उनले युवाको ज्ञान, सीप, सिर्जनशीलता र प्रविधिको उपयोगबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।
उनले अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाएर युवालाई स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । यसका लागि सरकार र निजीक्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
ठूलो संख्यामा नेपाली युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेको अवस्थामा सूचना प्रविधिको माध्यमबाट नेपालमै बसेर विश्व बजारमा सेवा दिन सकिने मन्त्री तिमिल्सिनाले बताए ।
‘अब हामीले श्रम र जनशक्ति होइन, सेवा बेच्ने दिशामा अघि बढ्नुपर्छ । सूचना प्रविधिको माध्यमबाट नेपालमै बसेर विश्वभर सेवा दिन सकिन्छ । यसले युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्नुका साथै मुलुकको अर्थतन्त्रमा समेत योगदान पुर्याउन सक्छ,’ उनले भने ।
सूचना प्रविधिको सम्भावना उपयोग गर्न सरकारले डिजिटल विभाजन अन्त्य गर्ने, इन्टरनेटको पहुँच विस्तार गर्ने र सेवाको गुणस्तर सुधार गर्ने कामलाई प्राथमिकता दिएको उनले जानकारी दिए ।
दूरसञ्चार क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्ने लक्ष्यसहित यसै वर्ष पाँचौँ पुस्ताको मोबाइल सेवा (फाइभ–जी) सुरु गर्ने गरी काम भइरहेको उनको भनाइ थियो ।
उनले सूचना प्रविधिका क्षेत्रमा नयाँ जनशक्ति र विज्ञ विकास हुँदै गएको उल्लेख गर्दै त्यसलाई मुलुकको आर्थिक रूपान्तरणको अवसरका रूपमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उद्यमशीलता र नवप्रवर्तनको विकासका लागि सरकार, निजीक्षेत्र, शैक्षिक संस्था तथा अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उनले बताए ।
