काठमाडौं। नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरूलाई पाँच प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसका साथै सभाले अग्राधिकार शेयरधनीका लागि आठ प्रतिशत लाभांश पनि स्वीकृत गरेको छ।
बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा सम्पन्न सभामा प्रस्तावित बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँ नाघेको जानकारी दिइएको छ। आर्थिक वर्ष २०८२/८३ मा बैंकले ७ अर्ब ९१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप दायित्व १३.०६ प्रतिशतले बढेर ६ खर्ब २ अर्ब ९३ करोड रुपैयाँ र कर्जा तथा सापटी १२.१५ प्रतिशतले बढेर ४ खर्ब ७६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। बैंकको वासलातको आकार १५.३८ प्रतिशतले वृद्धि भई ७ खर्ब ३४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।
अध्यक्ष चौधरीले बैंकले संस्थागत सुशासन, ग्राहक सन्तुष्टि र सेवाको आधुनिकीकरणलाई उच्च प्राथमिकतामा राखेको बताए। उनले बैंक स्थापना हुँदाको तुलनामा हाल चुक्ता पुँजी ९६० गुणाले वृद्धि भएको उल्लेख गरे। साधारणसभाले संस्थापक शेयरधनीतर्फबाट निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ।
नबिल बैंकले हाल देशभर २६२ शाखा र ३१६ एटिएममार्फत २८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। बैंकले दिगो बैंकिङ र डिजिटल सेवालाई जोड दिँदै सन् २०३० सम्म एआई रेडी बैंक बन्ने लक्ष्य लिएको छ। साथै, बैंकले ट्रष्ट, ट्रान्सपरेन्सी, ट्यालेन्ट, टेक्नोलोजी र ट्रान्सफरमेसन गरी पाँच पञ्चतत्वको अवधारणालाई नयाँ भिजनका रूपमा अघि सारेको छ।
