काठमाडौं: उदयपुर जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ। कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार समयमै वर्षा भएकाले सिँचाइ सुविधा सहज हुँदा धान रोपाइँको क्षेत्रफलमा समेत वृद्धि भएको छ।
जिल्लाको कूल १३ हजार ३ सय ८० हेक्टर धान खेतीयोग्य जमिनमध्ये यस वर्ष १३ हजार १ सय १२ हेक्टर अर्थात् ९८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ गरिएको छ। गत वर्ष १२ हजार ९ सय १२ हेक्टर अर्थात् ९५ प्रतिशत क्षेत्रफलमा मात्र धान लगाइएको थियो।
कृषि ज्ञान केन्द्रका प्रमुख योगेन्द्रप्रसाद यादवले गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रतिहेक्टर ३.७ मेट्रिक टनका दरले उत्पादन हुने प्रक्षेपण गरिएको छ। गत वर्ष प्रतिहेक्टर ३.२ मेट्रिक टनका दरले कूल ४१ हजार ३ सय १८ मेट्रिक टन धान उत्पादन भएको थियो।
उदयपुरका कृषकहरूले मन्सुली, बासमती, चनमचुर, रामधान, सुख्खा २, हर्दिनाथ ६, तरहरा २, बहुगुनी २ र कालोनुनिया जस्ता धानका प्रजातिहरू लगाउने गरेका छन्। कृषि विकास अधिकृत फूलकुमारी चौधरीका अनुसार असार मसान्तसम्म नै ५५ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको थियो। त्रियुगा, बेलका, कटारी र चौदण्डीगढी लगायतका पालिकाका विभिन्न भूभागमा धान खेती गरिन्छ।
