काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवा बिक्री गर्ने विक्रेतालाई पनि नगद पुरस्कार दिने व्यवस्था गर्न आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन्। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा बोल्दै उनले बिल जारी गर्ने संस्कारको विकास गर्न यस्तो व्यवस्था आवश्यक रहेको बताएका हुन्।
सरकारले चालु आर्थिक वर्षदेखि उपभोक्तालाई बिल लिने बानी बसाल्न नगद पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ। उक्त कार्यक्रम प्रभावकारी देखिएपछि बिल जारी गर्ने व्यापारीलाई पनि प्रोत्साहित गर्न कार्यविधि संशोधन गर्न मन्त्री वाग्लेले निर्देशन दिएका हुन्। उनले भने, ‘बिल लिनुपर्छ भन्ने त व्यापक देखियो। तर, बिल जारी गर्नुपर्छ भन्नेलाई पनि प्रोत्साहनको नीति लिन जरुरी देखियो। कार्यविधि संशोधन गरेर प्रस्ताव लिएर आउनुहोस्।’
साउन १ गतेदेखि सुरु भएको यस कार्यक्रमअन्तर्गत उपभोक्ताले दैनिक एक लाख ३४ हजार र बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने व्यवस्था छ। आकस्मिक लाभकर कट्टी भएपछि विजेताले दैनिक एक लाख र बम्परमा सात लाख ५० हजार रुपैयाँ पाउँछन्। असोज १५ गतेसम्म ७४ जनाले दैनिक र पाँच जनाले बम्पर उपहार प्राप्त गरिसकेका छन्।
अब विभागले कार्यविधि संशोधन गरेमा असोजको दोस्रो पाक्षिक पुरस्कारदेखि विक्रेता पनि सहभागी हुन पाउनेछन्। यद्यपि, विक्रेताका लागि प्रदान गरिने पुरस्कार रकम उपभोक्ताको तुलनामा कम हुनेछ। हाल उपभोक्ताले वस्तु खरिद गर्दा प्यान वा भ्याट बिल लिएर विभागको पोर्टलमा अपलोड गरेपछि वा अनलाइन भुक्तानी गरेपछि स्वतः पुरस्कारका लागि योग्य हुन्छन्।
