काठमाडौं: चौधरी फाउन्डेसनको पहलमा सञ्चालित नेपाल सोसल बिजनेस (एनएसबी) ले सामाजिक तथा वातावरणीय क्षेत्रमा क्रियाशील तीनवटा उद्यममा ५५ लाख रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ। एनएसबीको चौथो चरणको सोसल इम्प्याक्ट फंडीङ् इनिसिएटिभ अन्तर्गत ग्रीन रोड वेस्ट म्यानेजमेन्ट प्रालि, प्रवाह नेपाल प्रालि र स्याहार प्रोडक्ट्स छनोटमा परेका हुन्।
छनोटमा परेकामध्ये ग्रीन रोड वेस्ट म्यानेजमेन्टले २५ लाख रुपैयाँ पाउने भएको छ भने प्रवाह नेपाल र स्याहार प्रोडक्ट्सले १५-१५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। ग्रीन रोड वेस्ट म्यानेजमेन्टले पुनःप्रयोग गर्न कठिन प्लास्टिक तथा सिसाजन्य फोहोरलाई सडक निर्माण सामग्री, इँटा र वैकल्पिक इन्धनमा रूपान्तरण गर्दै आएको छ। प्रवाह नेपालले विद्युतीय बाइक भाडामा उपलब्ध गराउने र राइडरको आम्दानी अनुगमन गर्ने प्रणालीमार्फत रोजगारी प्रवर्द्धन गरिरहेको छ। त्यस्तै, स्याहार प्रोडक्ट्सले वातावरणमैत्री सरसफाइ तथा सौन्दर्य सामग्री उत्पादन गर्दै आएको छ।
सन् २०१४ मा स्थापना भएको एनएसबीले हालसम्म २० भन्दा बढी उद्यमलाई सहयोग गरिसकेको छ। संस्थाले न्यून ब्याजदर, धितोरहित लगानी र लचिलो भुक्तानी अवधिसहितको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै आएको छ।
चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले लगानीको वास्तविक उद्देश्य मापनयोग्य र दीर्घकालीन प्रभाव सिर्जना गर्नु रहेको बताएका छन्। लगानी प्राप्त गर्ने मध्येका एक उद्यमीले एनएसबीको सहयोगले व्यवसाय विस्तार र सामाजिक प्रभाव बढाउन प्रोत्साहन मिलेको बताए। एनएसबीले लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसनसँगको साझेदारीमा काम गर्दै आएको छ भने सिद्धार्थ बैंक यसको बैंकिङ साझेदार रहेको छ।
