धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ। आइतबार प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री चक्र मल्लले बजेट सार्वजनिक गरेका हुन्। लामो समयदेखि बजेटविहीन अवस्थामा रहेको प्रदेश सरकारले बजेट ल्याएसँगै अब आर्थिक तथा विकास निर्माणका काम अघि बढ्ने भएका छन्।
प्रदेश सरकारले प्रस्तुत गरेको बजेटका लागि आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यसैगरी, नेपाल सरकारबाट राजस्व बाँडफाँटमार्फत १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रुपैयाँ र सङ्घीय रोयल्टी बाँडफाँटबाट ७ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
बजेटको स्रोत व्यवस्थापनमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ विनियोजन गरिएको छ। साथै, सशर्त अनुदानतर्फ ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ, सङ्घीय समपूरक अनुदानबाट ३८ करोड ८० लाख रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यसबाहेक, चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित ९ अर्ब ६५ करोड रुपैयाँलाई पनि बजेटको स्रोतका रूपमा समावेश गरिएको छ।
