काठमाडौं। काठमाडौंको महाराजगञ्जस्थित मन्त्र थकाली रेस्टुरेन्टलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले अनुगमनका क्रममा गम्भीर कैफियत फेला पारेपछि उक्त कारबाही गरेको हो।
शनिबार खानामा कीरा भेटिएको गुनासो आएपछि विभागको र्यापिड रेस्पोन्स टिमले अनुगमन गरेको थियो। अनुगमनका क्रममा भान्सा कोठाको सरसफाइ सन्तोषजनक नभएको, पकाइएका खानेकुरा नछोपी राखिएको र फ्रिज तथा भान्सामा साङ्ला र भुसुना भेटिएको विभागले जनाएको छ। टोलीले भान्साको ड्रेनेज सफा नभएको, फ्रिजमा खाद्य वस्तु अव्यवस्थित रूपमा राखिएको र फोहोर डस्टबिन खुला छाडिएको अवस्थामा फेला पारेको थियो।
यस्तै, फ्राइड आलु पत्रिकामा राखेर भण्डारण गरिएको पाइएपछि टोलीले करिब एक किलो आलु नष्ट गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको विभागले जानकारी दिएको छ।
विभागले रेस्टुरेन्टलाई पकाइएका खानेकुरा छोपेर राख्न, कीरा नियन्त्रणको व्यवस्था गर्न, भान्सा र फ्रिजको सरसफाइमा ध्यान दिन र खाद्य पदार्थ राख्न पत्रिकाको प्रयोग नगर्न निर्देशन दिएको छ। साथै, देखिएका कैफियत सात दिनभित्र सुधार गरी प्रमाणसहित उपस्थित हुन भनिएको छ। निर्देशन पालना नभए खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप कारबाही गरिने चेतावनी दिइएको छ।
