काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हालसम्म कोषका विभिन्न खातामा गरी कुल १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ रुपैयाँ जम्मा भएको छ।
कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौ वटा वाणिज्य बैंकमा १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ रुपैयाँ मौज्दात रहेको छ। यसका साथै हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा दुई करोड ९७ लाख २९ हजार ९७२ अमेरिकी डलर जम्मा भएको छ।
सरकारले यसअघि नै बाढी प्रभावित क्षेत्रका लागि कोषबाट एक अर्ब रुपैयाँ निकासा गरिसकेको जनाएको छ। राहत र उद्धारका लागि विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम जारी रहेको छ।
