काठमाडौं: मोरङको कानेपोखरी गाउँपालिकाका हजारौँ ज्येष्ठ नागरिक तथा विपन्न लाभग्राही दसैँको मुखमा सामाजिक सुरक्षा भत्ता नपाउँदा समस्यामा परेका छन्। गाउँपालिकाले रकम खातामा पठाइसकेको भए पनि सम्झौता भएको एनआईसी एसिया बैंकले जनशक्ति अभाव र कार्यचाप देखाउँदै दसैँअघि वितरण गर्न नसकिने जनाएको छ।
गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीका अनुसार पालिकाले वडा कार्यालयमार्फत नै भत्ता वितरण गर्ने प्रस्ताव गरे पनि बैंकले आन्तरिक नियमको हवाला दिँदै अस्वीकार गरेको छ। वडाध्यक्ष बुढाथोकीले भने, ‘हामीले वडा कार्यालयबाटै घरघरमा भत्ता पुर्याउने विकल्प दिएका थियौँ, तर बैंकले मानेन।’ भत्ता नपाउँदा औषधि उपचार र चाडपर्व खर्चको जोहो गर्न समस्या भएको स्थानीय लाभग्राहीले गुनासो गरेका छन्।
गाउँपालिकाको सामाजिक सुरक्षा शाखाका प्रमुख अर्जुन कोइरालाका अनुसार करिब ४ हजार ५ सय लाभग्राहीको रकम बैंकमा पठाइसकिएको छ। बैंकको कोशी प्रदेश क्षेत्रीय प्रमुख भुपेन्द्र पौडेलले भने बजेट ढिलो गरी निकासा भएकाले सीमित जनशक्तिका कारण सबैलाई एकैपटक सेवा दिन कठिन भएको बताए। उनले भने, ‘हामीले भत्ता रोकेका होइनौँ। दसैँलगत्तै सबैले सहजै पाउँछन्।’ बैंकले अति आवश्यक भएका करिब २ हजारदेखि २ हजार २ सय जना ज्येष्ठ नागरिकलाई प्राथमिकताका आधारमा वितरण गर्ने प्रस्ताव गरेको छ।
स्थानीय सहकारीकर्मी लक्ष्मण बुढाथोकीले सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा एउटै बैंकलाई मात्र दिँदा यस्तो समस्या दोहोरिने गरेको टिप्पणी गरे। उनले स्थानीय सहकारी संस्थाहरूलाई पनि वितरणको अधिकार दिनुपर्ने धारणा राखेका छन्।
