काठमाडौं: तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित आँधीमूल यानचोकमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको छ। तीन वर्षअघि सुरु भएको यो व्यावसायिक खेतीले स्थानीय ४५ जना महिलालाई उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको बाटोमा जोडेको छ। दसैँको समयमा फूलबारी पहेँलपुर भएपछि यतिबेला महिला समूह फूल टिप्न र बजार पुर्याउन व्यस्त छन्।
महिला समूहकी अध्यक्ष सुन्तली गुरुङका अनुसार शनिबारदेखि फूल टिप्ने र बिक्री गर्ने काम सुरु भएको छ। दमौलीमा कोसेली घर सञ्चालन गर्दै आएकी उद्यमी कल्पना गौलीले ५० किलो फूलको माग गरेपछि समूहमा थप उत्साह छाएको छ। गुरुङले भनिन्, ‘दमौलीमा कोसेली घर सञ्चालन गर्दै आएकी उद्यमी कल्पना गौलीले ५० किलो फूलको माग गर्नुभएकाले फूल टिप्न सुरु गरेका छौँ।’
सामूहिक रूपमा खेती गर्दा श्रम र अनुभव साटासाट गर्न सहज भएको र स्थानीय स्रोतसाधनको उपयोगबाट आम्दानीको अवसर मिलेको गुरुङले बताइन्। यहाँ उत्पादित फूल प्रतिकिलो रु ४०० सम्ममा बिक्री हुने गरेको छ। स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता हटेको छ।
आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले विगत तीन वर्षदेखि हुँदै आएको यस खेतीले महिलालाई उत्पादनमूलक काममा जोडेको बताए। उनले भने, ‘फूलखेतीले स्थानीय महिलालाई आत्मनिर्भर बन्न सहयोग पुर्याएको छ। यहाँ उत्पादित फूलको बजारमा समस्या छैन।’ स्थानीयस्तरमा फूल उत्पादन र बिक्रीको सम्भावना देखिएकाले यसलाई आगामी दिनमा थप व्यवस्थित बनाउँदै लैजाने योजना छ।
