काठमाडौं: उपत्यकाका विभिन्न छ स्थानमा आइतबारदेखि जुनसुकै कम्पनीका ग्यास सिलिन्डर साटफेर गर्ने व्यवस्था सुरु भएको छ। दसैँको समयमा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था मिलाइएको हो।
आइतबार बिहानैदेखि तोकिएका स्थानहरूमा उपभोक्ताले खाली सिलिन्डर लिएर ग्यास साटेका छन्। ग्यास साट्ने केन्द्रहरूमा उपभोक्ताको लामो लाइन देखिएको थियो। नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार टाढा-टाढाबाट आएका उपभोक्ताले ग्यास साटेर लगेका छन्। ग्यास नपाएका उपभोक्तालाई कुपन वितरण गरी सोमबार आउन भनिएको छ।
उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क नतिरी फरक कम्पनीको सिलिन्डर साट्न सक्नेछन्। यो व्यवस्था आगामी सप्तमीसम्मका लागि लागू गरिएको छ। नेपाल आयल निगम, नेपाल एलपी ग्यास उद्योग सङ्घ, जिल्ला प्रशासन कार्यालय र ग्यास विक्रेता महासङ्घको समन्वयमा यो कार्यक्रम सञ्चालन गरिएको हो।
सङ्घका अनुसार बालाजुस्थित नेपाल ग्यास उद्योग, पेप्सिकोलास्थित सगर ग्यास गोदाम, सुकेधारास्थित बाबा ग्यास डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यास केन्द्र, कलङ्कीस्थित साईबाबा तथा श्रीकृष्ण ग्यास गोदाम र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास गोदामबाट सिलिन्डर साट्न सकिनेछ।
