काठमाडौं: मुगु जिल्लामा पहिलो पटक पेट्रोल पम्प सञ्चालनमा आएको छ। छायानाथ रारा नगरपालिका-१, तुमगाउँको ग्रेनीमा स्थापना गरिएको अनुशा फ्युल सप्लायर्स एन्ड डिस्ट्रिब्युटर्स प्रालिले आइतबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको हो। यो पम्प सञ्चालनमा आएसँगै जिल्लामा इन्धन आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।
यसअघि नाग्म-गमगढी सडक खण्डमा यात्रा गर्ने सवारी चालकहरू नेपालगन्ज र सुर्खेतबाट जर्किनमा इन्धन बोकेर ल्याउन बाध्य थिए। सञ्चालक नेताप्रसाद चौलागाईंका अनुसार २०८० साल कात्तिकदेखि निर्माण कार्य सुरु गरिएको थियो। सरकारी प्रक्रिया पूरा गर्न तथा भौगोलिक विकटताका कारण निर्माणमा ढिलाइ भएको उनले बताए।
तीन करोड रुपियाँभन्दा बढी लगानीमा स्थापना भएको उक्त पम्पमा पेट्रोल र डिजेल भण्डारणका लागि १२-१२ हजार लिटर क्षमताका ट्याङ्की राखिएका छन्। पम्पबाट दैनिक चार सयदेखि पाँच सय लिटर डिजेल र एक सयदेखि दुई सय लिटरसम्म पेट्रोल बिक्री हुने गरेको छ। पम्प सञ्चालनले तीन जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। स्थानीय कर्मचारी रामकृष्ण चौलागाईंले जिल्लामै इन्धन उपलब्ध हुँदा स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै इन्धन खरिदमा सहज भएको बताए।
दैलेखका सवारी चालक कमलबहादुर रोकायाले लामो समयदेखि इन्धनका लागि बाहिरी जिल्लामा निर्भर रहनुपर्ने बाध्यता हटेको भन्दै खुसी व्यक्त गरे। पहिले इन्धन ओसारपसार गर्दा जोखिम मोल्नुपर्ने अवस्था रहेकोमा अब त्यसबाट छुटकारा मिलेको उनले बताए।
